रमदानमा कारागारका मुस्लिम कैदीबन्दीलाई इफ्तार र सेहरी सामग्री
बाँके। पवित्र रमदान महिनाको अवसर पारेर राजा खान विइङ ह्युम्यान संस्थाले नेपालगञ्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूलाई इफ्तार र सेहरीका लागि आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको छ।
संस्थाका अध्यक्ष मोहम्मद अरसद शेषको नेतृत्वमा गएको टोलीले रोजा बसिरहेका कैदीबन्दीहरूलाई लक्षित गर्दै विभिन्न खाद्य सामग्री कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो।
रोजादार मुस्लिम कैदीबन्दीहरूलाई सहज रूपमा इफ्तार र सेहरी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले केराउ, चना, तेल, चिनी, चियापत्ती, खजुर, बिस्कुट, आलु, प्याज, पानी, रुवाफ्जा, बेसन, कचरी मिक्स र कागती लगायतका सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मोहम्मद अरसद शेषले रमदान महिनाले दया, करुणा र सहयोगको भावना फैलाउने सन्देश दिने उल्लेख गर्दै कारागारभित्र रहेका मुस्लिम कैदीबन्दीहरूलाई पनि आफ्नो धार्मिक आस्था अनुसार रोजा बस्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “रमदान आत्मशुद्धि, सहिष्णुता र मानव सेवाको महिना हो। कारागारमा रहेका दाजुभाइहरूले पनि इफ्तार र सेहरी सहज रूपमा गर्न सकून् भन्ने मानवीय भावनाले यो सहयोग गरेका हौं।”
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा कारागार प्रशासनले संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले कैदीबन्दीहरूको मनोबल बढाउने विश्वास व्यक्त गरेको थियो।
रमदानको पवित्र अवसरमा गरिएको यस सहयोगले नेपालगञ्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्