कोहलपुरमा केपिएल क्रिकेट प्रतियोगिता सुरु

नेपालगन्ज । बाँकेको कोहलपुरमा ४ लाख रुपैयाँ पुरस्कार राशिको कोहलपुर प्राइड लिग (केपिएल) टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुर स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं नेपाली टोलीका पूर्व कप्तान पारस खड्काले उद्घाटन गर्नुभयो ।
सो अवसरमा खड्काले देशैभरि क्रिकेटको माहोल बनेको र कोहलपुरमा भएको यो प्रतियोगिताले स्थानीय खेलाडीले प्रतिभा देखाउने मौका पाउने बताउनुभयो । पूर्व कप्तान खड्काले विगतमा बाँकेबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भए पनि पछि प्रतियोगिताहरू हुन नसक्दा पछि परेको उल्लेख गर्दै यस प्रकारका प्रतियोगिताले यहाँको क्रिकेट फेरि उठ्ने विश्वास गर्नुभयो ।
फाल्गुन २८ देखि चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बाँके, धनगढी, भैरहवाका गरी ६ टिम सहभागी रहेका छन् । प्रतियोगिता विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार पाउने आयोजकको भनाई छ । प्रतियोगितामा केही राष्ट्रियस्तरका खेलाडीको पनि सहभागिता रहेको छ । कोहलपुरमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्