तपाईँ सुन्दै हुनुहुन्छः

कहिलेसम्म उघ्रिएला मौसम ?

'वायु प्रदूषित हुँदा मानव स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर: जनस्वास्थ्यविद्'

काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशैभर लागेको तुवाँलोका कारण मौसम प्रदूषित  भएको छ । आजदेखि मौसममा सामान्य सुधार आउने देखिएपनि प्रदूषण हट्न अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ उपत्यका लगायत देशैभर करिब दुई हप्ता देखि लागेको तुवाँलो अझै कायम रहेको छ । यसबाट वायु प्रदूषण पनि थप बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि भने मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले हालको प्रदूषणको अवस्थामा क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो । 

नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका धेरै भूभागमा तुवाँलो देखिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पानी नपरेपछि प्रदूषण कम हुन नसक्ने भन्दै पानी पर्दै गएपछि मात्रै प्रदूषण कम हुँदै जान्छ । तर एक दुई दिन अघिदेखि नै हावाको वेग बढाउने खालको कुनै पनि प्रणाली नभएका कारण पनि प्रदूषण कम हुन नसकेको हो ।”

यसबाट गम्भीर मानव स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सचेत रहन जनस्वास्थयविद्हरुको सुझाव छ ।

तुवाँलोका कारण वायु प्रदूषित हुँदा मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर स्वास्थ्य समस्या देखिनसक्ने जनस्वास्थ्यविद्हरूले बताउनुभएको छ । वायुप्रदुषणका कारण मानव स्वास्थ्यमा अल्पकालिन र दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छ । अल्पकालिन स्वास्थ्य समस्यामा आँखा रातो हुने, चिलाउने, आँखाबाट पानी बग्ने, नाकबाट पानी बग्ने, सुख्खा खोकी लाग्ने लगायतका समस्या देखिन सक्छन् भने फोक्सोको क्यान्सर, पटक पटक निमोनिया, मुटुको रोग, स्मरण शक्तिमा कमी आउनु लगायतका दीर्घकालीन स्वास्थ्य समस्याहरू हुन सक्ने जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउनुहुन्छ ।

उहाँले “प्रदूषणका कारण स्वास्थ्यमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन यस्तो अवस्थामा सकेसम्म बाहिर हिँडडुल नगर्ने, घरैबाट काम गर्ने वातावरण निर्माण गर्नुपर्ने, निस्किनै परेमा मास्कको प्रयोग गरेर निस्किन सुझाव दिनुहुन्छ ।” 

स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय भएकाले मौसम पूर्ण रुपमा खुल्न नसकेको मौसमविद्को भनाइ छ । मौसम सफा भएपछिमात्रै प्रदूषण कम हुने भएकाले त्यसका लागि राम्रोसँग हावा चल्नुका साथै वर्षा हुनुपर्ने हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button