तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनपछि पर्सामा किसानहरू चैते धान रोपाइँमा व्यस्त

वीरगञ्ज । पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए लगत्तै किसानहरूलाई चैते धान रोप्ने चटारोले भ्याई-नभ्याई भएको छ ।  

पर्सा जिल्लाको पटेर्वा सुगौली, सखुवा प्रसौनी, ठोरी, जगरनाथपुर र पर्सागढी नगरपालिका क्षेत्रमा चैते धान रोपाइँ सुरु भएको छ । किसानहरूले निर्वाचनका कारण चैते धानखेतीको रोपाइँ सुरु गर्न सकेका थिएनन् । जिल्लाको गण्डक नहरदेखि उत्तरी भेगमा चैते धानखेती गरिन्छ । सिँचाइको पर्याप्त विकल्प भएको कारण यहाँका अधिकांश किसानहरूले दुई बाली धानखेती र एक बाली अन्य बाली लगाउने गरेका छन् ।

बर्से धानबाली पछि लगाएको तोरी, मकै, सुर्ती, आलु बाली फागुनको दोस्रो हप्तामा किसान हरुले भित्र्याएका थिए । तर निर्वाचनका कारण चैती धानबालीका लागि रोपाइँ गर्न सकेका थिएनन् । किसानहरूले लगाएका अन्य बालीहरू भित्र्याउने क्रममा धानको बीउ राखेका थिए र बाली भित्र्याएसँगै चैते धानखेती सुरु भएको हो । चैते धानखेतीमा सिँचाइको व्यवस्था आवश्यक हुने गर्दछ ।

वर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुरले बताउनुभयो । “गत वर्ष पर्सामा १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो” उहाँले भन्नुभयो “वर्षे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर चार टनसम्म उत्पादन हुने गर्दछ ।”

जिल्लामा गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार १ सय २३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले बताउनुभयो । 

खाद्यान्न अभावको परिपूर्तिका लागि राम्रो उपाय भएकाले पर्सामा चैते धानको क्रमशः विस्तार हुँदै गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख राम जीवन ठाकुरले बताउनुभयो ।

चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले पनि किसानहरूका लागि चैते धान खेती राम्रो मानिन्छ। केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको प्रमुख ठाकुरले बताउनुभयो ।

पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरण लगायतमा अनुदान दिने गरेको अधिकृत ठाकुरले बताउनुभयो ।

पर्सा जिल्लामा विशेष गरी चैतेधानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ । अहिले पर्सा जिल्लाको पटेर्वा सुगौली, सखुवा प्रसौनी, ठोरी, जगरनाथपुर र पर्सागढी नगरपालिका क्षेत्रमा चैते धानतर्फ किसानको आर्कषण बढेको अधिकृत ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button