सडकमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखरा मेयरको आग्रह
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई पोखराको सडकमा अव्यवस्थित ढङ्गबाट पुस्तक बिक्री नगर्न आग्रह गर्नुभएको छ ।

मेयर आचार्यले सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउँदै पुनको अभियानप्रति सम्मान व्यक्त गर्दै पुस्तक बिक्रीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सुझाव दिनुभएको हो ।
पुनले देश र समाजका लागि नवप्रवर्तन तथा अनुसन्धानको क्षेत्रमा पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्दै अभियानलाई अझ व्यवस्थित बनाउन सहकार्य गर्न सकिने बताउँदै मेयर आचार्यले बिना दर्ता वा आवश्यक अनुमति सडकमा वस्तु बिक्री–वितरण गर्दा कानुनी जटिलता आउन सक्ने उल्लेख गर्नुभयो ।
पोखरामा पुस्तक बिक्रीका लागि उपयुक्त स्थान उपलब्ध गराउन पुस्तक व्यवसायी महासङ्घ मार्फत सहयोग गर्न सकिने बताउँदै उहाँले देशभर करिब १८ हजार पुस्तक व्यवसायी राज्यका विभिन्न निकायमा दर्ता भई पुस्तक बिक्री–वितरण गर्दै आएको उल्लेख गर्नुभयो ।
“यदि तपाईँ पोखरा आउने समय दिनुहुन्छ भने पुस्तक व्यवसायी महासङ्घमार्फत सहज र उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्रीमा सहयोग गर्न सकिन्छ ।” उहाँले भन्नुभयो । पुस्तकको स्टक उपलब्ध गराएमा महासङ्घमार्फत बिक्री गरी उचित भुक्तानी उपलब्ध गराउन सहजीकरण गर्न सकिने पनि मेयर आचार्यले जनाउनुभयो ।
यसैबिच, सांसद पुनले भने पोखराका विभिन्न चोकमा स्वयं उपस्थित भएर पुस्तक बिक्री गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले पनि सामाजिक सञ्जालमा लेख्दै बिहान १० बजे चिप्लेढुंगा क्षेत्रमा, दिउँसो १ बजे सभागृह चोक र बेलुका ४ बजेपछि बिरौटा चोकमा पुस्तक बिक्री गर्ने सार्वजनिक गरी पुस्तक बिक्रीमा लाग्नुभएको हो ।
आफ्नो फुर्सदको समयमा पुस्तक बिक्री गर्दै आएको र उक्त रकम वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन तथा आविष्कार केन्द्रका गतिविधिका लागि सङ्कलन गरिरहेको सांसद पुनले बताउनुभयो ।
यसअघि सोमबार पनि पुनले पोखराका अमरसिंहचोक, पृथ्वीचोक लगायतका स्थानमा पुगेर आफ्नै जीवनीमा आधारित आत्मकथात्मक पुस्तक बिक्री गर्नु भएको थियो । पुस्तक खरिद गर्न सर्वसाधारण, विद्यार्थी र युवाहरूको उल्लेख्य भीड लागेको थियो। पुनले पाठकलाई हस्ताक्षरसहित पुस्तक हस्तान्तरण गर्नु हुने हुँदा मानिसहरुको भिड लाग्ने गरेको छ ।
पुनका आफन्तका अनुसार सोमबार मात्रै पोखरामा करिब ८ सय प्रति पुस्तक बिक्री भएको थियो। विद्यार्थीका लागि पुस्तकको मूल्य ५ सय रुपैयाँ र अन्यका लागि ७ सय ५० रुपैयाँ तोकिएको थियो।
निर्वाचन आचारसंहिताका कारण निर्वाचनअघि रोकिएको अभियान निर्वाचनपछि पुनः सुरु गरिएको हो । सामान्य पोसाक र चप्पलमा देखिएका पुनको सादा जीवनशैलीले धेरैलाई प्रभावित बनाएको थियो । केही समर्थकले उहाँलाई फूलमाला तथा खादा ओढाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई समेत ज्ञापन गर्नुभएको छ ।
यद्यपि, सडकमा स्वयं पुस्तक बिक्री गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले सांसदजस्तो व्यक्तिले पुस्तक बिक्री गर्नुभन्दा पुस्तक व्यवसायीमार्फत वितरण गर्नुपर्ने बताएका छन् भने धेरैले पुनको अभियानलाई सहयोग गर्न स्वतःस्फूर्त रूपमा पुस्तक खरिद गरिरहेको बताउनुभएको छ ।
पुनले आफ्नो जीवनकथामा आधारित उक्त पुस्तक देशभर स्वयं उपस्थित भएर बिक्री गर्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्