आज ‘खखडेहरा पर्व’ मनाइँदै, सुदूरपश्चिम प्रदेश भरी सार्वजनिक बिदा
डडेल्धुरा। राना थारु समुदायले आज होरीको क्रममा मनाइने खखडेहरा पर्व मनाउँदै छन् । यो राना थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । राना थारु समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्दछन् ।

आज त्यसको अन्तिम दिन खखडेहरा मनाइन्छ । राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मङ्गलवार मनाइरहेका छन् । मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा परम्परागत शैलीमा मनाउने गरेका छन् ।
राना थारुको धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको खखडेहरा पर्वको आफ्नै विशेषता रहेको छ । यो पर्वमा समुदायका नागरिकहरूको दीर्घायु, रोगब्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत स्थानीयले गर्ने प्रचलन रहेको छ । राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागु पूर्णिमादेखि परम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ ।
खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरू खखडेहरा फुटाउन जान्छन् । खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङ्ग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्ने गर्दछ । बिहानै खप्टोमा माटोको भाँडा सुइरो गाँसिएका मट्याङ्ग्रा बोक्दै रोगब्याध, भूत प्रेत, लङ्गडी घरघरबाट खखडेहरा लगेर जाने चलन रहेको छ ।
रानाका अनुसार खखडेहरा फुटाएर आउनेहरूले फेरि होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसीयाली मनाउने गरिन्छ । गर्मी बढेसँगै प्रकोप बढ्ने समय सुरु हुने भएकाले ती प्रकोपहरू नआउन् भनेर सामूहिक रूपमा राना थारू समुदायले खखडेहरा पर्व सामूहिक रूपमा मनाउने गरेका छन् ।
यसैबिच खखडेहराको अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ । खखडेहरा पर्वको अवसरमा प्रदेश भरी बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशका निमित्त सचिव आमोद दहाललेजानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्