तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा ३१ उम्मेदवारमध्ये २१ को जमानत जफत

उदयपुर  । उदयपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३१ मध्ये २१ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगको कानुनी प्रावधानअनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ ।

उदयपुरका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १७ राजनीतिक दलका प्रतिनिधि तथा क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १२ राजनीतिक दलका प्रतिनिधि गरी  कुल ३१ जना उम्मेदवारले प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका थिए ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उदयपुर–१ मा १८ जना उम्मेदवारमध्ये १३ जनाले १० प्रतिशत मतसमेत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । उक्त क्षेत्रमा कुल ८० हजार १२० मत खसेकोमा ७३ हजार ९१६ मत सदर भएको थियो ।

यस क्षेत्रमा जमानत जफत हुने उम्मेदवारहरूमा सुवासचन्द्र खड्का (राप्रपा), गणेशकुमार राई (जसपा), अर्जुन तामाङ (उज्यालो नेपाल पार्टी), बद्रीविक्रम राई (मंगोल नेशनल अर्गनाइजेसन), अमृतबहादुर खत्री (नेकपा माओवादी), सुरेश राई (संयुक्त नागरिक पार्टी), कुशेश्वर चौधरी (नेपाली जनता दल), देवराज रोका (स्वतन्त्र), मनोजकुमार पौडेल (आम जनता पार्टी), विष्णुबहादुर खत्री (नेमकिपा), लिलकुमार राई (राष्ट्रिय जनमोर्चा), प्रशान्तकुमार राई (नागरिक सर्वोच्चता पार्टी) तथा गोकर्ण राई (नेपाल जनमुक्ति पार्टी) रहनुभएको छ ।

उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पारसमणि गेलाल ४१.३८ प्रतिशत मतसहित विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टीका राजेशकुमार राई, नेपाल कम्युनिष्ट पार्टीका बलदेव चौधरी, नेपाली काँग्रेसका विदुर बस्नेत तथा नेकपा एमालेका दुर्गाकुमार थापाले भने १० प्रतिशतभन्दा बढी मत ल्याउँदै जमानत जोगाउन सफल हुनुभएको हो ।

यस्तै उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा प्रत्यक्षतर्फ ४४ हजार ४२९ मत खसेकोमा ३ हजार ६७३ मत बदर भई ४० हजार ७५६ मत सदर भएको थियो । यस क्षेत्रमा पनि १३ उम्मेदवारमध्ये ८ जनाले १० प्रतिशत मत नकटाउँदा उनीहरूको जमानत जफत भएको छ ।

जमानत जफत हुने उम्मेदवारहरूमा अरुण राई (राष्ट्रिय परिवर्तन पार्टी), भास्कर राई (मंगोल नेशनल अर्गनाइजेसन), विष्णुबहादुर खड्का (राप्रपा), दुर्गाबहादुर तामाङ (नेकपा माओवादी), केशवबहादुर मगर (जसपा), मेजरकुमार राई (स्वतन्त्र), बमबहादुर मगर (आम जनता पार्टी) तथा पूर्णबहादुर बुढाथोकी (नेमकिपा) रहनु भएको छ ।

उदयपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ ३६.३३ प्रतिशत मतसहित निर्वाचित हुनु भएको छ । नेकपा एमालेका अम्बरबहादुर रायमाझी, नेपाली काँग्रेसका रामकुमार राई, नेपाल कम्युनिष्ट पार्टीका सुरेशकुमार राई तथा श्रम संस्कृति पार्टीका बलराज राईले भने १० प्रतिशतभन्दा बढी मत ल्याउँदै जमानत जोगाउन सफल हुनुभएको हो ।

यसपटक समानुपातिकतर्फ पनि उदयपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बन्न सफल भएको छ ।

उदयपुर–१ मा समानुपातिकतर्फ ८० हजार १२० मत खसेकोमा ४ हजार ८८ मत बदर भई ७६ हजार ३२ मत सदर भएको थियो । यहाँ रास्वपाले ३३ हजार ८१३ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । श्रम संस्कृति पार्टीले १२ हजार २९६, नेकपा एमालेले ९ हजार १४१, नेपाली काँग्रेसले ८ हजार ७९९ तथा नेकपा (तारा) ले ६ हजार ०३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उदयपुर–२ मा समानुपातिकतर्फ ४५ हजार ७३ मत खसेकोमा २ हजार ८८५ मत बदर भई ४२ हजार १८८ मत सदर भएको थियो । यहाँ पनि रास्वपाले १६ हजार ८०१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । एमालेले ६ हजार ५२४, काँग्रेसले ५ हजार ८१८, श्रम संस्कृति पार्टीले ४ हजार ९९२ तथा नेकपा (तारा) ले ४ हजार ६९५ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button