तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पाँच हजार बढी मत बदर

बैतडी I बैतडीमा पाँच हजार बढी मत बदर भएको छ । 

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो ।

आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । ६७ हजार ७३० मत सदर भएका थिए । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ८४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । तर सोचेअनुरूप बदर मतको संख्या घट्न नसकेको उहाँले बताउनुभयो ।

वि.स.२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको थियो ।

मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वस्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको सूचना अधिकारीले दयालले बताउनुभयो।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button