धनुषाका ४ मध्ये ३ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
जनकपुरधाम । गत बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा चुनावमा धनुषाका ४ निर्वाचन क्षेत्रमध्ये ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो पटक धनुषाको निर्वाचन क्षेत्र नंं २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामविनोद यादव निर्वाचित हुनुभएको हो । सो क्षेत्रमा यादवले ४१ हजार ६ सय ३७ मत सहित निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिनेश प्रसैलाले १० हजार १ सय ९८ मत ल्याउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार उमाशङ्कर अरगरीयाले १० हजार १ सय ५८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र झाले ८ हजार ४ सय ३ मत ल्याउनुभएको छ ।
यस अघि धनुषा निर्वाचन क्षेत्र नंं ४ मा राजकिशोर महतोले ४८ हजार २ सय ७० मत प्राप्त गरी विजयी हुनुभएको धनुषा निर्वाचन क्षेत्र नंं ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले १५ हजार ८ सय ९ मत प्राप्त गर्नुभयो । यसैगरी नेकपा एमालेका उम्मेदवार एवं पार्टीका उपमहासचिव रघुवीर महासेठले ११ हजार ५ सय २९ मत प्राप्त गर्नुभयो ।
कुल १ लाख २७ हजार ७ सय ७८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ८३ हजार ९ सय ६७ मत खसेको थियो ।
धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा ४३ हजार ९ सय ८८ मत ल्याई हिजै निर्वाचित भइसक्नुभएको छ । उहाँका निकटतम नेपाली काँग्रेसका उम्मेदवार विमलेन्द्र निधिले १६ हजार ६ सय ५२ मत ल्याउनुभएको थियो ।
धनुषाको निर्वाचन क्षेत्र नंं १ मा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी रद्द भए पनि मतको लगत राख्न निर्वाचन आयोगले निर्देशन दिएको छ । रास्वपाका उम्मेदवार किशोरी साह कमलले २३ हजार ३२ मत ल्याउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवले ८ हजार ४ सय ४३, नेपाली काँग्रेसका उम्मेदवार रामपल्टन साहले ८ हजार ५ सय १० र नेकपा एमालेका रामचन्द्र मण्डलले ७ हजार ९ सय ४२ मत ल्याउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्