दोलखामा रास्वपाका जगदिश खरेल निर्वाचित
दोलखा। प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ मा दोलखाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदिश खरेल निर्वाचित हुनुभएको छ। । उनी दोस्रो प्रयासमा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हाे। ।

२०७९ को निर्वाचनमा करिब ३५ सय मतका साथ चौथो भएका खरेल यो पटक ३२ हजार तीन सय ७६ मतका साथ विजयी भएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार चार सय ४९ मत प्राप्त गरेका छन् । गुरुङ २०७० र २०७४ को निर्वाचनमा दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हाे।
यो निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्का १३ हजार ६५ मतका साथ तेस्रो र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटी १२ हजार दुई सय ९८ मतका साथ चौथो भएका छन् ।
हरेक निर्वाचनमा बुथ कब्जाको आरोप खेप्दै आएको दोलखामा यो पटक शान्तिपूर्ण मतदान गर्न पाएको स्थानीय मतदाताको प्रतिक्रिया रहेको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु मतदान केन्द्रमा विवादका कारण केही घण्टा मतदान प्रक्रिया रोकिएको भएपनि पछि शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको थियो ।
दोलखामा शान्तिपूर्ण मतदानको लागि सुरक्षा व्यवस्था चुस्त गरिएको र त्यो सफल भएको निर्वाचन सुरक्षाको कमाण्ड गरेको नेपाली सेनाको गरूडदल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनुभयो ।
नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बीच सुरक्षा समन्वय राम्रो रहेको उनको भनाई छ ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा एक लाख ७० हजार तीन सय २१ मतदाता रहेका छन् । त्यसमा पुरुष ४५ हजार चार सय ५७ र महिला ३९ हजार २४ जना गरी ८४ हजार चार सय ८१ मत ९४९।६० प्रतिशत० खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ बेदिङका एक सय १३ जना मतदाताले भने दुर्गममा बिरामी बोक्न सहजै हेलिकप्टर उडाउन पाउनुपर्ने माग पूरा नभएकोले मतदान नगरेको स्थानीय दावा छिरी शेर्पाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्