बाजुराका ३ वटा केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइँदै

बाजुरा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाजुराका अधिकांश मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम मार्तडी पुगेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार १ सय १५ मतदान केन्द्रका मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज बिहान ५ः०० बजेसम्म मतगणनास्थलमा ल्याइसकिएको छ।
जिल्लामा १ सय १८ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र रहेकोमा १ सय १४ मतदान केन्द्रका मतपेटिका बस तथा जीपमार्फत सदरमुकाम ल्याइएको हो।
हिमाली गाउँपालिका–३ स्थित हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका भने बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो।
उहाँका अनुसार हिमाली गाउँपालिका–३ को गंगा आधारभूत विद्यालय बौडी, वडा नम्बर १ को सुनन्दा माध्यमिक विद्यालय बाम र विच्छ्या मावि विच्छ्याका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याउने तयारी गरिएको छ।
बिहीबार साँझ परिसकेकाले मतपेटिका ल्याउन नसकिएको र आज बिहान मौसम सफा हुने बित्तिकै हेलिकप्टरमार्फत ल्याइने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो।
सडक पहुँच भएका क्षेत्रका सबै मतपेटिका सदरमुकाममा ल्याएर जिल्ला समन्वय समिति बाजुरामा राखिएको छ। बाँकी तीन मतदान केन्द्रका मतपेटिका आएपछि आज नै सर्वदलीय बैठक बोलाएर मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्