बागलुङमा ९७ हजार मत खस्यो
गलकोट (बागलुङ) I बागलुङमा शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएको छ । बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको छ ।
जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ । जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिनुभयो । कुल मतदातामध्ये ५२ हजार ८८१ महिला र ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको बरालले जानकारी दिनुभयो । दश स्थानीय तह रहेको बागलुङमा अहिले मतपेटिका सङ्कलन भइरहेको छ । बागलुङमा १३० मतदान केन्द्रबाट एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका थिए ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभयो । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ । बागलुङ कारागारमा ५५ मतदातामध्ये ५३ जनाले मतदान गरेका थिए ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा थिए । मतदानमा कुनै पनि अप्रिय घटना नघटेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्