तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा ४६.४४ प्रतिशत मत खस्यो

बझाङ । बझाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्लामा कुल मतदातामध्ये ४६ दशमलव ४४ प्रतिशत मत खसेको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनका क्रममा जिल्लाभर कुनै झडप, विवाद वा अप्रिय घटना नभई मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । राजनीतिक दलहरूको प्रतिबद्धता, मतदाताको संयमता तथा सरोकारवाला निकायबिचको समन्वयका कारण निर्वाचन स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताउनुभयो ।

जिल्लामा रहेका कुल १ लाख २६ हजार ९ सय ३ मतदातामध्ये ५८ हजार ९ सय ४४ जनाले मतदान गरेका छन् । जिल्लाभर रहेका १ सय ८९ मतदान केन्द्र, १ सय ३७ मतदानस्थल तथा २ अस्थायी मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ ।

यसैबीच, मतदान सम्पन्न भएसँगै विभिन्न स्थानबाट मतपेटिका सङ्कलन गर्ने कार्य जारी रहेको छ । साइपाल गाउँपालिकाका केही दुर्गम मतदान केन्द्रबाट मतपेटिका ढुवानीमा समय लाग्ने भएकाले मतगणना शुक्रबार मात्रै सुरु हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका सूचना अधिकारी प्रकाश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार साइपाल गाउँपालिकामा रहेका दुई मतदान केन्द्रका मतपेटिका आज हेलिकप्टरमार्फत ढुवानी गरेको र बाँकी भोली ढुवानी गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button