तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा शान्तिपूर्ण मतदान, ५० दशमलव २९ प्रतिशत मत खस्यो

धादिङ । धादिङका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । 

जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक रिपोर्टअनुसार ५० दशमलव २९ प्रतिशत मत खसेको छ ।

जिल्लामा कुल दुई लाख ७५ हजार दुई सय ८० मतदाता मध्ये एक लाख ३८ हजार चार सय ४७ मत खसेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव बहादुर गुरुङले जानकारी दिनुभयो ।

जिल्लामा रहेका एक सय १४ मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु गरिएको छ । 

धादिङ निर्वाचन क्षेत्र नम्बर १ को गल्छी गाउँपालिकाको महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा र धादिङ निर्वाचन क्षेत्र नम्बर २ को सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार क्षेत्र नम्बर १ को मतपेटिका आजै राती १२ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन हुने र क्षेत्र नम्बर २ को रुवीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्रहरूको मतपेटिका शुक्रबार दिउँसो मात्रै सदरमुकाम आइपुग्नेछ ।

सदरमुकाम आसपासका पालिकाहरूबाट भने मतपेटिका आजै मतगणनास्थलमा ल्याइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button