इलाममा मतपेटिका सङ्कलन गरिँदै, भण्डारणको लागि उच्च सुरक्षा व्यवस्था

इलाम । इलाममा मतपेटिका सङ्कलन गर्न थालिएको छ । इलाम नगरपालिका ७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलमा मतदान सम्पन्न भएको छ । मतपेटिका सङ्कलन गरी मुचुल्का तयार गर्न थालिएको छ ।
मतगणना स्थलबाट सबैभन्दा नजिकैको दुरीमा रहेको यस मतदान स्थलमा मतपेटिका गणना स्थलमा लैजान रुजु गरि प्रक्रिया थालिएको हो । यस मतदान स्थलमा ३ हजार १४ मतदाता रहेकोमा १ हजार ७ सय १५ मत खसेको मतदान अधिकृत किसान न्यौपानेले बताउनु भयो ।
मतगणनाको लागि स्थल तथा मतपेटिका भण्डारण स्थलको तयारी समेत भइसकेको मुख्य निर्वाचन अधिकृत गजुरेलले जानकारी दिनु भएको छ । सुरक्षित रुपमा मतगणना गर्न तारजाली र सिसि क्यामेरा सहित गणना स्थलको व्यवस्थापन गरिएको छ ।
इलाममा शान्तिपूर्ण रुपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो । इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा १ हजार ७ सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
इलाममा २ लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको इलाममा २७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।








प्रतिक्रिया राख्नुहोस्