सर्लाहीमा ५० प्रतिशतभन्दा बढी मत खस्यो
सर्लाही। सर्लाहीमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार दिउँसो १२ बजे सम्म महिला २० हजार २७०, पुरुष २१ हजार ८९१ र अन्य २ जना गरी जम्मा ४२ हजार १६३ मत खसेको थियो। त्यसपछि मतदान क्रम जारी रहेकाले अहिले जिल्लाभर ५० प्रतिशतभन्दा बढी मत खसेको जानकारी उहाँले दिनुभएकाे छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मतदानलाई मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन सञ्चालनका लागि जिल्लाभर करिब ३ हजार ७०० कर्मचारी परिचालन गरिएको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको बताउनुभयाे।
साँझ ५ बजे मतदान सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ। त्यसपछि सर्वदलीय बैठक बसेर आचारसंहिता तय गरी आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत थपलियाले जानकारी दिनुभयाे।
मतगणनाका लागि क्षेत्र नम्बर १ मा लालबन्दी वडा नं। १० कार्यालय भवन, क्षेत्र नम्बर २ मा जिल्ला समन्वय समितिको सभा हल मलङ्गवा, क्षेत्र नम्बर ३ मा नापी कार्यालय हरिवनको सभा हल र क्षेत्र नम्बर ४ मा बेणी भोला नमूना माध्यमिक विद्यालयमा मतगणना गरिने जनाइएको छ।







प्रतिक्रिया राख्नुहोस्