तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान, निर्वाचन शान्तिपूर्ण रूपमा जारी

मुगु। मुगु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म जिल्लाभर कुल १५ हजार ७०५ मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार खसेको मतमध्ये ७ हजार ६२१ पुरुष र ८ हजार ९७ महिला मतदाता रहेका छन्। हालसम्म जिल्लामा कुल ४२.९० प्रतिशत मतदान भएको उनले जानकारी दिनुभयो ।

जिल्लाभर कायम गरिएका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। सुरक्षाकर्मीको उपस्थितिमा मतदान कार्य व्यवस्थित ढंगले अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा १ वटा अस्थायी मतदान केन्द्रसहित ७० वटा मतदान केन्द्र र ६७ वटा मतदान स्थल कायम गरिएका छन्। ती केन्द्रमार्फत ३६ हजार ३१ जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको छ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासन र सुरक्षानिकायले आवश्यक समन्वय गर्दै मतदान प्रक्रिया सञ्चालन गरिरहेको जनाइएको छ। निर्वाचन कार्यालयले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रहसमेत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button