तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा शान्तिपूर्ण मतदान जारी, मतदाताको उत्साह उल्लेखनीय

बाँके।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहीबार बाँकेमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। जिल्लाका १३९ मतदान स्थलमा ४०० मतदान केन्द्रमा बिहान ७ बजेदेखि एकैसाथ मतदान सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहाल का अनुसार सबै केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ र हालसम्म कतै मतदान अवरुद्ध भएको खबर आएको छैन।

मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उल्लेखनीय भीड देखिएको छ। नेपालगञ्ज–६ स्थित हडियाबाबा मतदान केन्द्र की मतदान अधिकृत अमृता केसीले महिला मतदाताको विशेष उपस्थिति रहेको र पत्रकारका लागि सहज वातावरण बनाइएको जानकारी दिनुभयो। राप्ती सोनारी गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा पनि मतदान शान्तिपूर्ण रूपमा भइरहेको मतदान अधिकृत प्रकाश अधिकारीले बताउनुभयो।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायले विशेष सतर्कता अपनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसी का अनुसार नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका टोली परिचालित छन्। मतदान केन्द्रभित्र नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् भने केन्द्र बाहिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीले सुरक्षा व्यवस्था गर्दैछन्।

जिल्लाभर शान्ति सुरक्षाको अवस्था सामान्य छ। नेपाल–भारत सीमा नाका बन्द गरिएको छ र सीमा क्षेत्रमा सशस्त्र प्रहरीले विशेष निगरानी राखेको छ।

बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन्।

उत्साहजनक जनसहभागिता र कडा सुरक्षा व्यवस्थाबीच बाँकेमा मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले अघि बढिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button