तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मतगणना स्थल र सुरक्षा तयारी पूरा

बाँके । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले मतगणना स्थल व्यवस्थापनदेखि सुरक्षा प्रबन्धसम्मका काम सम्पन्न भएको जनाएको छ।

मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालका अनुसार क्षेत्र नम्बर १ को अघैयास्थित राप्ती सोनारी गाउँपालिका भवन, क्षेत्र नम्बर २ मा भेरी प्राविधिक शिक्षालय को सभाहल र क्षेत्र नम्बर ३ मा कपास विकास समितिको भवनलाई मतगणना स्थल तोकिएको छ। ती स्थलहरूमा तारजाली लगाएर सुरक्षित बनाइएको छ।

सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले मतगणनालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको बताउनुभयो।

जिल्लामा क्षेत्र नम्बर १ अन्तर्गत ४८ मतदान स्थलमा १४१ मतदान केन्द्र कायम छन्। यस क्षेत्रमा १ लाख २४ हजार ७२७ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ४३ मतदान स्थलमा १२४ मतदान केन्द्रमार्फत १ लाख ८ हजार २९० मतदाताले मतदान गर्नेछन्। क्षेत्र नम्बर ३ मा ४८ मतदान स्थलमा १३५ मतदान केन्द्र रहेका छन्, जहाँ १ लाख १७ हजार ३५४ मतदाता रहेका छन्।

समग्रमा बाँकेमा १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार १३९ पुरुष र ९ जना अन्य गरी कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासन र निर्वाचन निकायले तयारी पूरा गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button