मौन अवधिमा प्रचार–प्रसार नगर्न बाँकेका सरोकारवालालाई आग्रह
बाँके । मौन अवधि सुरु भइसकेपछि पनि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना नभएको भन्दै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय, बाँकेले गम्भीर ध्यानाकर्षण जनाएको छ।
कार्यालयद्वारा जारी विज्ञप्तिमा मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचरणबारे स्पष्ट जानकारी हुँदाहुँदै केही राजनीतिक दलका पदाधिकारी, कार्यकर्ता, उम्मेदवारसँग सम्बन्धित व्यक्ति तथा केही सञ्चार माध्यमले सामाजिक सञ्जाल र अनलाइनमार्फत मत परिणामसम्बन्धी सर्वेक्षण सार्वजनिक गर्ने, मिथ्या सूचना प्रवाह गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने तथा प्रचार–प्रसार जारी राखेको उल्लेख छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतद्वय पूर्णबहादुर खत्री र सर्वोदय उपाध्यायले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिप्रति गम्भीर आपत्ति जनाएका हुन्। विज्ञप्तिमा मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचरण अक्षरशः पालना गर्न सम्बन्धित सबैमा पुनः अपिल गरिएको छ।
मतदानको पूर्वसन्ध्यामा पटक–पटक जारी गरिएका सूचना र अपिलको अवज्ञा गर्दै आचारसंहिता उल्लंघन गर्ने व्यक्ति वा उम्मेदवारलाई प्रचलित निर्वाचनसम्बन्धी कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरिएको छ। मौन अवधिमा कुनै पनि प्रकारको प्रचार–प्रसार, सर्वेक्षण प्रकाशन वा मतदातालाई प्रभाव पार्ने गतिविधि कानुनविपरीत हुने भन्दै त्यस्ता कार्य तत्काल रोक्न कार्यालयले आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्