तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा चुनावी चहलपहल बढ्दो, गाउँ फर्किए मतदाता

स्याङ्जा  । दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको स्याङ्जा जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा गाउँ गाउँमा चुनावी माहौल तातेको छ । विगत केही वर्ष देखि व्यापार, व्यवसाय, वैदेशिक रोजगारी तथा अध्ययनका कारण शहर केन्द्रित भई सुनसान जस्तै देखिएका बस्तीहरू अहिले फेरि चहलपहलले भरिन थालेका छन् । घर आँगनमा राजनीतिक बहस, चिया पसलमा उम्मेदवारको चर्चा र टोल टोलमा मतदाता बीचको संवादले ग्रामीण परिवेशलाई फेरि जीवित बनाएको छ ।

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न विभिन्न जिल्ला बाहिर तथा विदेशबाट समेत मतदाता गाउँ फर्किन थालेसँगै राजमार्ग र ग्रामीण सडकहरूमा साना ठूला सवारी साधनको चाप उल्लेख्य रूपमा बढेको छ । बसपार्क, चोक र बजार क्षेत्रमा यात्रुहरूको भीडले चुनावको उत्साह झल्काइरहेको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी जस्ता आधारभूत आवश्यकतामा सुधार ल्याउन सक्ने सक्षम, इमानदार र दूरदृष्टि भएको उम्मेदवारलाई विजयी गराउने उद्देश्यले आफूहरू गाउँ फर्किएको मतदाताहरूको भनाइ छ ।

जिल्लामा कुल १ सय ९९ मतदान स्थल र ३ सय २२ मतदान केन्द्र तोकिएका छन् । स्वच्छ, निष्पक्ष र धाँधली रहित वातावरणमा मतदान सम्पन्न गराउन जिल्ला निर्वाचन कार्यालयले १ हजार ९ सय ३५ जना कर्मचारी परिचालन गरेको जनाएको छ । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा म्यादी प्रहरी समेत गरी करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुल २ लाख ४८ हजार ८ सय १६ मतदाता रहेको यस जिल्लामा सबैले सुरक्षित र शान्तिपूर्ण वातावरणमा मतदान गर्न सकुन् भन्ने उद्देश्यले आवश्यक सुरक्षा तथा व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख दधिराम न्यौपानेका अनुसार निर्वाचन अवधिभर हुन सक्ने कुनै पनि अप्रिय घटना वा अवाञ्छित गतिविधिलाई नियन्त्रण र सहजीकरण गर्न जिल्ला निर्वाचन सुरक्षा समिति पूर्ण तयारी अवस्थामा रहेको छ । सुरक्षा निकायहरूबीच समन्वय गरी संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी समेत बढाइएको उहाँले बताउनुभयो ।

मतदाता उत्साहपूर्वक गाउँ फर्किएर लोकतान्त्रिक प्रक्रियामा सहभागी भइरहँदा स्थानीयवासीहरूले विजयी हुने उम्मेदवारबाट ठूला आशा र अपेक्षा राखेका छन् । केवल चुनावी वाचा र भाषणमा सीमित नभई जनअपेक्षा अनुसार विकास, सुशासन, पारदर्शिता र रोजगारी सिर्जनामा केन्द्रित भई काम गर्नुपर्ने उनीहरूको माग छ ।

यसरी चुनावी सरगर्मीले गाउँको मौनता तोड्दै लोकतन्त्रप्रतिको विश्वास र सहभागितालाई पुनः एक पटक उजागर गरेको छ । अब सबैको ध्यान शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गराउने तर्फ केन्द्रित भएको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button