तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा भाइरल ज्वरोका २ सय बढी बिरामी, दुई बालकको मृत्यु 

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–१० महागाउँमा भाइरल अर्थात् मौसमी ज्वरोको प्रकोपका कारण दुई बालकको ज्यान गएको पाइएको छ । एक साताको अन्तरालमा एकै घरका दुई दाजुभाइको ज्यान गएपछि प्रभावित क्षेत्रमा खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले ज्वरोकै कारण दुई बालकको ज्यान गएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

प्रतिवेदन अनुसार महागाउँमा १३ वर्षीय विनोद महरा र १० वर्षीय विकास महराको ज्वरोका कारण ज्यान गएको हो । विनोदको फागुन ११ गते र विकासको फागुन १६ गते मृत्यु भएको थियो । एकै घरमा दुवै दाजुभाइको मृत्यु भएपछि अहिले महरा गाउँ शोकमा डुबेको छ । 

ज्वरो प्रभावित समुदायका नागरिकमा उच्च ज्वरो, रुघाखोकी, टाउको दुखाइ, वान्ता, कमजोरी तथा केहीमा श्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ । प्रभावित क्षेत्र महागाउँका ३२ घरपरिवारसहित आसपासका गोरागाउँ र साङडी टोलका गरी करिब १०० घरपरिवारका २ सय जना नागरिक बिरामी परेका पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो । 

हालसम्मको प्रारम्भिक अनुमान अनुसार मौसमी भाइरल ज्वरोका कारण दुवै बालकको ज्यान गएको हुन सक्ने बताइए पनि प्रयोगशाला परीक्षण र थप अनुसन्धानपछि मात्रै पुष्टि हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मीहरूको टोली पुगेपछि गरिएको परीक्षण र अनुसन्धानमा क्रममा केही घरपरिवारले समयमै बिरामीहरूलाई स्वास्थ्य संस्थामा नलगेको पाइएको छ । 

दूषित खानेपानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइको कमी, विषादीयुक्त फलफूल र अन्य खाद्यवस्तुको प्रयोगले भाइरल ज्वरोको प्रकोप फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनापछि पुर्चौंडी नगरपालिकाले द्रुत प्रतिकार्य टोली परिचालन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button