तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीबिच छलफल 

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे गृहमन्त्री ओमप्रकाश अर्याल तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच छलफल भएको छ। 

आयोग कार्यालय बहादुर भवनमा गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख भण्डारी तथा मन्त्रालय र आयोगका अन्य पदाधिकारीको उपस्थितिमा छलफल भएको हो। निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ। निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसार निषेध अवधि (मौन अवधि) समेत सोमबार राति १२ बजेबाट सुरु हुनेछ।

प्रचारप्रसार निषेध अवधि सुरु हुने पूर्व सन्ध्यामा भएको छलफलमा निषेध अवधिमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जानकारी मन्त्री अर्यालले दिनुभयो। उहाँले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने बताउनुभयो। मन्त्री अर्यालले निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबिच समन्वयमा काम भइरहेकाले भयरहित वातावरणमा निर्वाचन हुने बताउनुभयो।

सो अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको परिपालना गराउन सूक्ष्म रुपमा अनुगमन हुने जानकारी दिनुभयो। भण्डारीले आचारसंहिताको परिपालनालाई प्राथमिकतामा राखिएको र उल्लघंनकर्तालाई कानुन अनुसार कारबाही हुने बताउनुभयो।

छलफलका क्रममा गृहमन्त्री अर्यालसमक्ष निर्वाचनको सम्पूर्ण तयारीबारे ब्रिफिङ भएको थियो। मतपेटिका, मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित जिल्लाहरूमा पुर्‍याइसकिएको जानकारी गराइएको छ। यस्तै, मतदानपछिको मतपेटिका ढुवानी लगायतमा आयोगले मिलाएको प्रबन्धबारे पनि जानकारी गराइएको छ। 

गृहमन्त्री अर्याल तथा कार्यवाहक प्रमुख भण्डारी समेतले यसअघि सुरक्षाका दृष्टिकोणले अति संवेदनशील तथा संवेदनशील मानिएका निर्वाचन केन्द्रहरूको समेत अनुगमन गर्नुभएको थियो। समग्र शान्ति सुरक्षाको अवस्थाका विषयमा आयोगले नियमित रूपमा सम्बन्धित निकायहरूबाट ब्रिफिङ समेत लिइरहेको छ।

यस्तै, आयोगले सोमबार रातिबाट सुरु हुने मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई आवश्यक निर्देशन समेत दिइसकेको छ।

प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ। कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ। सञ्चार माध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ।

द्विपक्षीय छलफलमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल लगायतका पदाधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button