चौथो हिसान गण्डकी फुटसल : प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि
पोखरा । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले जित्दा विश्वविद्यालय (कलेज) तर्फ इन्फरमेटिक्स कलेजले उपाधि जितेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा दुवै विद्यालयले जित हासिल गरी उपाधि जितेका हुन् ।

चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गरी उपाधि जितेको हो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा मगरले एक गोल गर्दा स्टेप वाई स्टेपका आश्रय कुँवरले सान्त्वना गोल गर्नुभयो । स्टेप वाई स्टेप लगातार दोस्रो पटक उपविजेता भयो । उपाधिसँगै चिल्ड्रेन लाइफले नगद रु १ लाखसहित रनिङ शिल्ड प्राप्त गर्यो भने उपविजेता स्टेप वाई स्टेपले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।
प्लस–२ तर्फ स्टेप वाई स्टेपका कुन्जन पौडेल उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने चिल्ड्रेन लाइफका रेशम बाबु रिजाल उत्कृष्ट गोलरक्षक तथा आयुष पौडेल सर्वाधिक गोलकर्ता घोषित हुनुभयो ।
यता विश्वविद्यालय (कलेज) तर्फ इन्फरमेटिक्स कलेजले फाइनल खेलमा लेक सिटी कलेजलाई १–० गोल अन्तरले पराजित गर्यो । इन्फरमेटिक्सका लागि निर्णायक गोल सुशिल बरुवालले गर्नुभएको थियो ।
च्याम्पियन इन्फरमेटिक्सले नगद रु २५ हजार तथा उपविजेता लेक सिटी कलेजले नगद रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विश्वविद्यालयतर्फ इन्फरमेटिक्सका नारायण प्रकाश पुन उत्कृष्ट खेलाडी घोषित हुनुभयो भने पुकार गुरुङ उत्कृष्ट गोलरक्षक इन्फोम्याक्सका सबल दाहाल सर्वाधिक गोलकर्ताको उपाधि हात पार्नुभयो ।
प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्ण राज अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोट्र्स एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङ, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयकी उपसचिव ईश्वरी शाह, हिसान केन्द्रीय सल्लाहकार बाबुराम पन्त, केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डे, हिसान गण्डकी प्रदेशका अध्यक्ष डा.रामजी शर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा हिसान गण्डकी प्रदेशका अध्यक्ष डा.रामजी शर्माले प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो । प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा विश्वविद्यालय (कलेज) तर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको थियो । प्लस–२ समूहमा कास्कीबाट ८, बागलुङबाट ३, तनहुँबाट ३ तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्