तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन सुरक्षा कडा पार्न गृहमन्त्रीको निर्देशन

बझाङ । आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार हेलिकप्टरमार्फत बझाङ पुग्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै शान्तिसुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी लिनुभएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरी निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतका निर्वाचनमा देखिएका कमजोरी दोहोरिन दिन्नौँ । प्रशासन अहिले निष्पक्ष र स्वतन्त्र छ, सक्षम पनि छ ।’

प्रमुख जिल्ला अधिकारी मुकेश केशरीलाई उद्धृत गर्दै उहाँले प्रशासनिक संयन्त्र निर्वाचन सम्पन्न गराउन तयार रहेको बताउनुभयो । 

निर्वाचनविरुद्ध गतिविधि गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, राष्ट्रसेवक कर्मचारी होस्, सर्वसाधारण मतदाता होस्, उम्मेदवार, कार्यकर्ता वा अन्य कुनै व्यक्ति—कसैले पनि निर्वाचनविरुद्ध काम गरे कानुनी दायरामा ल्याइन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button