गृहमन्त्रीसहित उच्च सुरक्षा टोली सुदूरपश्चिम अनुगमनमा
काठमाडौँ I आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई लक्षित गरेर निर्वाचनको तयारी र देशको समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय सुरक्षा निकायका प्रमुख सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको अनुगमन तथा निरीक्षणमा निस्किएको छ ।
उहाँसँग गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीषक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको उच्चस्तरीय टोली सहभागी छ ।
निर्वाचनलाई मध्यनजर गर्दै उच्चस्तरीय सुरक्षा निकायको प्रतिनिधिमण्डलले आज बाँकेको नेपालगञ्ज हुँदै बाँके, बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षा र जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार उच्चस्तरीय प्रतिनिधिमण्डलले निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र त्यहाँका जिल्लास्थित मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
यसअघि शुक्रबार गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्च अधिकारी टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको थियो ।
सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुद र प्रभावकारी बनाएको छ । निर्वाचन नजिकिएसँगै सरकारकोतर्फबाट सुरक्षालगायत अन्य बन्दोबस्तीका सबै तयारी गरिएको छ । मतदाताले भयरहित वातावरण निर्धक्कका साथ मतदानको वातावरण बनाउने वातावरण सुनिश्चित गरिएको छ ।
निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचन अघि, निर्वाचनको अवधिमा र निर्वाचन पश्चात् मतपत्रको सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्