मुद्दामा प्रतिबद्धता नजनाउने उम्मेदवारलाई ‘नो भोट’ चेतावनी
इलाम । मुक्कुमलुङ संरक्षणसँग सम्बन्धित तीन बुँदे एजेन्डा सार्वजनिक गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गरेको छ।

शनिबार इलाम बजारस्थित फ्रेन्ड होटलमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक डकेन्द्रसिङ थेगिमले ओमप्रकाश गुरुङ (नेकपा माओवादी केन्द्र, प्रत्यक्षतर्फ) तथा छिकिन तामाङ (जनता समाजवादी पार्टी, समानुपातिक) लाई औपचारिक रूपमा विज्ञप्ति बुझाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य राजनीतिक दलका उम्मेदवारहरूलाई पनि बोलाइएको भए पनि उनीहरू उपस्थित नभएकोमा गुनासो व्यक्त गरिएको छ। “हामीले सबै दल र उम्मेदवारलाई समान रूपमा आह्वान गरेका थियौँ, तर केही नआएकोमा दुःख लागेको छ,”
कार्यक्रममा इलाम याक्थुङ चुम्लुङका अध्यक्ष बुद्धमाया सोग्मीले ‘Save Mukkumlung’, ‘No Cable Car’ र ‘No Koshi’ सम्बन्धी तीन बुँदे एजेन्डा पढेर सुनाएकी थिइन्। समितिले उक्त एजेन्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारविरुद्ध आगामी निर्वाचनमा ‘No Vote’ अभियान सञ्चालन गर्ने चेतावनी दिएको छ भने सहमति जनाउने उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पारेको छ।
कार्यक्रममा ओमप्रकाश गुरुङले आफ्नो पार्टी पहिलेदेखि नै मुक्कुमलुङ संरक्षणको पक्षमा प्रतिबद्ध रहेको बताउँदै तीन बुँदे एजेन्डाप्रति पूर्ण समर्थन रहेको धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्