तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज नाका फागुन १८ देखि २१ गतेसम्म बन्द गरिने 

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित लक्षित गरेर पर्सा जिल्लामा भारतसँग सीमा जोडिएका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द गरिने जनाएको छ । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोख्रेलद्वारा जारी सूचनामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको जनाइएको छ ।

प्रशासनका अनुसार तोकिएको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सीमा आवतजावतमा रोक लगाइनेछ । साथै, होली तथा सामुदायिक पर्व जस्ता सामाजिक कार्यक्रम मनाउन पनि कडाइ गरिएको छ । सार्वजनिक स्थलमा भिडभाड, जुलुस, र्‍याली, हो–हल्ला, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने गतिविधि तथा मोटरसाइकल प्रयोग गरी होली मनाउने कार्य निषेध गरिएको छ ।

निर्वाचन मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसार, झन्डा–ब्यानर प्रदर्शन, डीजे वा अन्य ध्वनि प्रदूषण गर्ने गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।

आदेश उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिँदै सबै सरोकारवालालाई निर्वाचन आचारसंहिता पालनाका लागि आग्रह गरिएको छ । 

यसैबिच होली पर्व मनाउने क्रममा मोटरसाइकल दुर्घटनामा परी धेरैको मृत्यु हुने गरेको विगतका घटनाहरूलाई दृष्टिगत गरी फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको सूचनामा उल्लेख छ । 

जारी सूचनामा सिमानाका बन्द हुने होली तथा रमजान पर्व मनाउने, सवारी आवागमन तथा सवारी अनुमति पत्र लिने तथा डिजेको प्रयोग र चुनाव प्रचार प्रसार सम्बन्धमा विभिन्न ४ बुँदे निर्णय सार्वजनिक गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button