तपाईँ सुन्दै हुनुहुन्छः

मजदुरलाई चुनाव भन्दा दैनिकी चलाउन दौडधुप

बाजुरा I आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढ्दो छ । 

तर हिमाली जिल्ला बाजुराका दैनिक ज्यालादारी मजदुर र कृषक समुदायमा भने चुनावी रौनक खासै देखिएको छैन । निर्वाचन आउन पाँच दिन मात्र बाँकी रहँदा पनि बिहान–बेलुका काम नगरी गुजारा चलाउन नसक्ने मजदुरका लागि चुनावभन्दा पेट पाल्नु नै ठूलो चिन्ता बनेको छ ।

विशेषगरी आरन व्यवसायी, गिट्टी कुट्ने मजदुर, घाँस–दाउरा सङ्कलनमा व्यस्त कृषक तथा मेलापातमा दिन बिताउने स्थानीयलाई चुनावी माहौलले छोएको देखिँदैन । नेताहरू गाउँमा आएर भोट मागेर जाने तर आफ्ना दिनचर्या र समस्या जस्ताका त्यस्तै रहने गुनासो उनीहरूको छ ।

बडिमालिका नगरपालिका–५ का आरन व्यवसायी मनबिरे मिजार भन्नुहुन्छ, “दैनिक काम नगरी खान पुग्दैन । चुनाव आउँछ, नेताहरू भोट माग्छन्, तर हाम्रो अवस्था उस्तै छ ।” उहाँका अनुसार बाजुरामा अझै पनि फलामका औजार बनाएर अन्न लिने ‘बालिघरे’ प्रथा कायमै छ । नगदको अभाव र रोजगारीको सीमित अवसरका कारण परम्परागत श्रम साटासाट प्रणालीमै धेरै परिवार निर्भर छन् ।

जिल्लाका प्रायः गाउँहरूमा बिहानदेखि साँझसम्म स्थानीय खेतबारी, जङ्गल र मेलापातमै व्यस्त देखिन्छन् । चुनाव नजिकिँदै गए पनि गाउँघरमा न त झण्डा–ब्यानरको चहलपहल छ, न त ठूला चुनावी सभाको उत्साह । कतिपय ठाउँमा चुनावी प्रचारप्रसार सीमित भेटघाट र घरदैलोमै केन्द्रित छ ।

स्थानीयहरूको भनाइमा चुनावी प्रतिबद्धता धेरै सुनिए पनि रोजगारी, सडक, शिक्षा, स्वास्थ्य र बजार पहुँच जस्ता आधारभूत समस्यामा ठोस परिवर्तन नआउँदा चुनावकै मुखमा समेत युवाहरू बिदेसिन बाध्य बनिरहेका छन् । दैनिक जीविकोपार्जनकै चपेटामा परेका मजदुरका लागि चुनाव एक दिनको घटना जस्तै बन्न पुगेको छ ।

निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारले मजदुर तथा श्रमिक वर्गका वास्तविक मुद्दालाई प्राथमिकतामा राख्न सके मात्र उनीहरूमा चुनावप्रति भरोसा र उत्साह बढ्ने स्थानीयको अपेक्षा छ । हाल बाजुराका धेरै मजदुरको घरमा चुनावी रौनकभन्दा दैनिक श्रमको चटारो नै हाबी देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button