तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीसँग नवनियुक्त चिनियाँ राजदूतको शिष्टाचार भेट 

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले राजदूत चाङ माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ राजदूत माओमिङले व्यस्तताका बीच शिष्टाचार भेटका लागि समय उपलब्ध गराइदिनुभएकामा प्रधानमन्त्री कार्कीलाई धन्यवाद ज्ञापन गर्नुभयो। यस्तै राजदूत माओमिङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाई ज्ञापन गर्नुभयो । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उहाँले बताउनुभयो।

प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदाशयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभयो। साथै विकासका विभिन्न परियोजना र आयामहरूमा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरूप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभयो।

भेटका क्रममा प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत माओमिङले दुवै देशका जनताले मनाउँदै गरेको नयाँ वर्ष ९घोडा वर्ष० का अवसरमा शुभकामना पनि आदानप्रदान गर्नुभयो।

संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति  अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदा झैँ स्पष्ट रहेको बताउनुभयो।

एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उहाँले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो।

चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button