तपाईँ सुन्दै हुनुहुन्छः

फागुन २१ को निर्वाचनअघि बाजुरामा नमुना मतदान अभ्यास

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्वरूप बाजुराको सदरमुकाम मार्तडीमा नमुना मतदान अभ्यास गरिएको छ।

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई व्यवहारिक अनुभव दिलाउने उद्देश्यले बिहीबार मालिका माविको प्राङ्गणमा अभ्यास सञ्चालन गरिएको हो।


मुख्य निर्वाचन अधिकृत संजिव पोख्रेलले तालिमपश्चात् नमुना मतदान अभ्यास गरिएको जानकारी दिनुहुँदै यसले नयाँ मतदान अधिकृतलाई कार्यसम्पादनमा सहजता पुर्‍याएको बताउनुभयो। उहाँका अनुसार निर्वाचनअघि गर्नुपर्ने तयारी, मतदानका क्रममा अपनाउनुपर्ने सतर्कता, र मतदान सकिएपछि मतपेटिका शील गर्ने विधिबारे प्रदर्शनमार्फत स्पष्ट पारिएको छ।


प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले नमुना मतदान मार्फत निर्वाचनको दिन मतदान अधिकृतले परिचालन गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकको व्यवस्थापन, मतपेटिका तथा मतपत्रको सुरक्षाजस्ता विषयमा टोलीलाई प्रष्ट पारिएको बताउनुभयो। नमुना अभ्यासपछि मतदान अधिकृतहरूले निर्वाचनको दिन गर्नुपर्ने पूर्वतयारी र अपनाउनुपर्ने सजगताबारे व्यवहारिक रूपमा बुझ्न पाएको प्रतिक्रिया दिनुभएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार जिल्लाभर ७ सय ९ जना कर्मचारी निर्वाचनमा खटाइने छन्।

जिल्लाका १ सय १८ वटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक अधिकृतसहित बढीमा ६ जनासम्म कर्मचारी परिचालन गरिने जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button