तपाईँ सुन्दै हुनुहुन्छः

मुगुका दुई गाउँमा भाइरल रुघाखोकीको प्रकोप, ४ सयभन्दा बढी प्रभावित

मुगु। जिल्लाको खतेड र नखर्जी गाउँमा भाइरल रुघाखोकी तीव्र रूपमा फैलिँदा करिब ४ सयभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्।

खतेड गाउँपालिका वडा न-९ अन्तर्गत पर्ने नखर्जी गाउँमा करिब ३ सय २० भन्दा बढी घरधुरी रहेका छन्।

केही दिनअघि रातापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक खटिएर उपचार गरिएको भए पनि रोग नियन्त्रणमा आउन नसकेको स्थानीयको गुनासो छ। नखर्जी गाउँका घरैपिच्छे भाइरल रुघाखोकीका बिरामी बढ्दै गएको र  बुढापाका र दमका बिरामीलाई आवश्यक पर्ने ओषधि र अक्सिजन सिलिण्डर समेत नभएको अवस्थामा जिल्लाबाट  चिकित्सक नखटिँदा समस्या झन् जटिल बनेको स्थानीयवासीहरूले बताएका छन्।

रोग अन्यत्र फैलिन नदिन सामाजिक दूरी कायम गर्नुपर्ने विषय स्थानीय तहमा उठेको छ। तर गाउँमा चिकित्सक र औषधि पठाउन पटक–पटक पहल गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको खतेडका स्थानीय पहलमान रोकायाले जानकारी  दिनु भयो ।

यसैबीच, शुक्रबार आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाउने तयारी गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ।

अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाएर उपचार तथा निगरानी कार्य सुरु गरिनेछ।

स्थानीयवासीले समयमै उपचार र औषधि नपाए अवस्था झन् गम्भीर बन्न सक्ने भन्दै तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button