तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन ‘मौन अवधि’ सुरु हुने भन्दै घर–परिवारमै होली मनाउन बाँके प्रशासनको आग्रह

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले रमजान महिना, हिन्दु समुदायले मनाउने फागु पूर्णिमा (होली) तथा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सार्वजनिक निर्णय गरेको  छ ।

प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणमा हिन्दु, मुस्लिम, बौद्ध लगायत विभिन्न धर्मगुरुसँग तथा दोस्रो चरणमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि सम्मिलित सर्वदलीय सर्वपक्षीय बैठक बसी गरिएका विभिन्न निर्णय सार्वजनिक गरेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङद्वारा जारी सूचनामा रमजान महिना प्रारम्भ भएको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरिएको छ भने फागु पूर्णिमा (होली) को अवसरमा हिन्दु समुदायलाई समेत शुभकामना दिइएको छ । फागुन १९ गतेदेखि निर्वाचन मौन अवधि सुरु हुने र निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी होली पर्व घर, परिवार र आफन्तबिच मर्यादित रूपमा मनाउन प्रशासनले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेको बैठकले चाडपर्व मनाउँदा ध्वनि प्रदूषण नगर्न आग्रह गर्ने निर्णय गरेको छ । यस्तै अन्य निर्णयहरूमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न अनुरोध गर्ने, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गर्ने, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न अपिल, सामाजिक सद्भाव, आपसी भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्ने लगायत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button