तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा जिल्ला सद्भाव संयन्त्रको बैठक सम्पन्न, ३ बुँदे निर्णय

वीरगञ्ज । अनिश्चितकालीन कर्फ्यु आदेश जारी पछि  वीरगन्जको अवस्था सामान्य बनाउन आज अपराह्न जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला सद्भाव संयन्त्रको बैठक सम्पन्न भएको छ । 

बैठकले ३ बुँदे निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सम्पन्न बैठकले वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा हिजो फागुन १० गते बेलुका भएको घटना तथा सो घटनाबाट सृजित घटनाक्रमका दोषीलाई स्थानीय प्रशासनले कानुनको दायरामा ल्याउने सोका लागि पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र सम्पन्न गर्ने, यस्ता दोषीहरूलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत सहजीकरण गर्ने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले व्यक्तिगत घटना, दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्नै, सामाजिक सञ्जालमा भाइरल बनाउने, कुनै जाति धर्मलाई होच्याएर अभिव्यक्ति दिनेहरूलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न बैठकमा उपस्थित नागरिक समाज, राजनैतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक अगुवाहरू एवं सम्पुर्ण जनप्रतिनिधिले आ आफ्नो संस्था र निकायबाट विज्ञप्ति जारी गर्ने निर्णय गरेको जिल्ला सद्भाव संयन्त्र पर्साका सदस्य समेत रहनुभएका नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओम प्रकाश खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button