तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एकको मृत्यु

इलाम । इलाम जिल्ला सूर्योदय  नगरपालिका-७ पाल्टाङगेमा सोमबार  भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिर्तामोडबाट इलाम आउँदै गरेको प्र-१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार झापा बिर्तामोड-५ का ५० वर्षीय मनोज चौधरीको ज्यान गएको इलाम प्रहरीले जानकारी दिएको छ  ।

बिहान करिब ११:३५ बजे मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुले अचानक ब्रेक लगाउँदा पछाडि सवार चौधरी मोटरसाइकलबाट सडकमा लडेका थिए । सोही समयमा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले टाउकोमा किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका  सूचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ। मोटरसाइकल चालक साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ भने उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने स्थितिमा रहेको जानकारी प्राप्त भएको छ।

प्रहरीले ट्रक र चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ का ३० वर्षीय हरि नारायण सुवेदीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button