तपाईँ सुन्दै हुनुहुन्छः

झापामा हात्ती आतंकः पाकेको धान समयमै भित्र्याउन प्रशासनको आग्रह

झापा । केही दिनयता झापामा जङ्गली हात्तीको ठूलो बथान नै देखिएपछि प्रशासन कार्यालय झापाले  झापाका हात्ती प्रभावित क्षेत्रका किसानलाई पाकेको बाली समयमै भित्र्याउन आग्रह गरेको छ । मुख्य रुपमा अतिप्रभावित मेचीनगर–४ बाहुनडाँगीका किसानलाई बाली भित्र्याउन प्रशासनले आग्रह गरेको हो ।

बाली थन्क्याउन्जेल थप सुरक्षा फौज परिचालन गरी हात्तीको प्रवेश नियन्त्रण गर्ने रणनीतिमा सुरक्षा निकाय रहेकोले किसानलाई पाकेको धान समयमै भित्र्याउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनु भयो ।

हिजो बिहानै बुद्धशान्तिमा हात्तीको आक्रमणबाट एकजना घाइते भएको घटनापछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा नेपाली सेनाका प्रमुख सेनानी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकसहितको टोलीले हात्ती प्रवेशको पूर्वी बिन्दू बाहुन डाँगी नाकाको आकस्मिक अवलोकन–भ्रमण गरेको थियो ।

टोली भारततर्फबाट हात्ती प्रवेश गर्ने मुख्य बिन्दू बाहुन डाँगी पुग्दा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रेखदेख र संरक्षणमा किसानहरू पाकेर पहेँलो भएको धानबाली धमाधम काट्ने र ढुवानी गर्ने काममा जुटेका थिए ।

सुरक्षा प्रमुखहरूले स्थानीय किसानसँग खेतीवारिमा नै छलफलसमेत गरेका थिए । बढीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सकिए पाकेको धानबाली सुरक्षित रूपमा घर भित्र्याउन सकिने स्थानीय किसानको माग छ ।

किसानको मागलाई सम्बोधन गर्न दुवै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनु भयो । उहाँले जिल्लाबाट अतिरिक्त सुरक्षा जनशक्ति खटाई स्थानीय समुदायसँग मिलेर हात्तीको प्रवेश नियन्त्रण गर्न प्रयास गरिने बताउनु भयो ।

स्थलगत अवलोकनपछि स्थानीय वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबिच अन्तरक्रिया पनि भएको थियो ।

हात्ती नियन्त्रणका लागि सो स्थानमा खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्च लाइट र हाते माइक हस्तान्तरण गर्नुभएको थियो । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा प्राप्त भएको थियो ।

हाल सो स्थानमा सशस्त्र प्रहरी , नेपाल प्रहरी , डिभिजन वन कार्यालयका कर्मचारी , स्थानीय युवासहितको टोली तैनाथ रहेको छ । हात्ती आएको सूचना प्राप्त हुनासाथ उक्त टोली  खटिने गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button