निर्वाचन: कास्कीमा ४ हजार सुरक्षाकर्मी खटिँदै
पोखरा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारिएको छ । कास्कीका ३ वटा निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण र निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचन गराउन आवश्यक तयारी तीव्र पारिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताउनुभयो ।

कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३ वटा मतदान केन्द्र निर्धारण गरिएसँगै सो क्षेत्रको बस्तु स्थितिबारे हाल अनुगमन यातायात एवं ढुवानीको सम्बन्धमा तथा कर्मचारी व्यवस्थापन देखि सुरक्षा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभयो ।
निर्वाचनका लागि आवश्यक ५३ प्रकारका सामग्रीमध्ये ५२ प्रकारका सामग्री जिल्लामा आइसकेको बताउँदै उहाँले सोमबारदेखि मतदान अधिकृत, सहायक मतदान अधिकृत सहितका कर्मचारीलाई तीन दिने तालिम दिने तयारी गरिएको जनाउनुभयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुरक्षाका दृष्टिले अति संवेदनशील र संवेदनशील मानिएका मतदानस्थलको अनुगमन गर्दै सुरक्षा व्यवस्था मिलाएको बताउनुभयो । सडक पहुँचको अवस्था, ढुवानीको व्यवस्था, बाटोको अवस्था लगायतको विषयमा सरोकारवालाहरुसंग छलफल र संवाद गर्दै अघि बढेको उहाँले जनाउनुभयो । कास्कीमा जनपद प्रहरी सहित सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट गरी ४ हजार १ सय ५४ जना सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले उल्लेख गर्नुभयो ।
यसमा निर्वाचन प्रहरी तथा निर्वाचन सशस्त्र प्रहरी सहित उक्त सङ्ख्यामा सुरक्षा निकाय खटिएसँगै आवश्यक परेको खण्डमा प्रदेश प्रहरी र पश्चिम पृतना हेड क्वाटरबाट मगाउन सकिने यसका साथै मोबाइल टोली छुट्टै सुरक्षाको व्यवस्था रहने प्रशासनले जनाएको छ । यसमा नेपाली प्रहरी ९ सय ९३, निर्वाचन प्रहरी १ हजार ९ सय २३, सशस्त्र प्रहरी ५ सय ३५, निर्वाचन सशस्त्र प्रहरी २ सय ५३ र नेपाली सेना ४ सय ५० जना परिचालन हुने भएको बरालले जनाउनुभयो ।
कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन् । निर्वाचनको दिनमा मतदान स्थलमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र आवश्यक अनुसार मोबाइल टोली रहने भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।
२०७९ मा २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेको कास्कीमा हाल बढेर ३ लाख ८ हजार ५ सय ७२ पुगेको छ । २०७९ को निर्वाचन पछि कास्कीमा १७ हजार ४ मत बढेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपानले बताउनुभयो । कास्की क्षेत्र नम्बर १ मा हाल १ लाख १६ हजार ८ सय ७८ मतदाता रहेका छन् भने कास्की क्षेत्र नम्बर २ मा ८४ हजार १ सय ३४ मतदाता रहनुभएको छ भने कास्की क्षेत्र नम्बर ३ मा १ लख ७ हजार ५ सय ६० मतदाता रहनु भएको उहाँले जनाउनुभयो । अघिल्लो संस्करणको निर्वाचनपछि कास्की १ मा ६ हजार १ सय ६३, कास्की २ मा ४ हजार ९ सय ९६ र कास्की ३ मा ५ हजार ८ सय ४५ मतदाता बढी रहनुभएको छ ।
कास्की जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र सहित ४९ जना उम्मेदवार हुनुहुन्छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४३ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहनुभएको छ भने ६ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ । कास्की–१ मा १७ जना, कास्की–२ मा १७ जना र कास्की–३ मा १५ जना उम्मेदवार हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्