धनुषामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम सुरु
जनकपुरधाम । प्रतिनिधि सभाको चुनावमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम धनुषामा शुरु भएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नंं १ मा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई एक दिने प्रशिक्षण सुरु भएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभाष बाबु परीले जानकारी दिनुभयो ।
जनकपुरधामको मोडेल मल्टिपल क्याम्पसमा शुरु भएको प्रशिक्षणमा मुख्य निर्वाचन अधिकृत पुरी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल सहितका सुरक्षा अधिकारीहरुले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य एवं अधिकारका विषयमा प्रशिक्षण दिनुभयो । प्रशिक्षण कार्यक्रममा शान्ति सुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षा सहितका विषयमा धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर सहितले जानकारी दिनुभयो ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदका लागि धनुषाको ४ निर्वाचन क्षेत्रमा गरेर ६ सय ४५ मतदान केन्द्र रहेको छ । मतदान केन्द्रको सङ्ख्याका आधारमा प्रत्येक मतदान केन्द्रका लागि १ जना मतदान अधिकृत तथा एक जना सहायक मतदान अधिकृत तोकिएको छ ।
धनुषा जिल्लामामा यस पटक नयाँ तथा पुराना गरेर ५ लाख १४ हजार ५ सय ७१ मतदाताहरू रहनुभएको छ । धनुषा निर्वाचन क्षेत्र नंं १ मा १ सय ६३ मतदान केन्द्र रहेको छ । यसै गरि १ लाख २६ हजार ४० जना मतदाताहरू रहनुभएको छ ।
आजबाट निर्वाचन क्षेत्र १ वाट शुरु भएको तालिम क्रमशः ११ गते क्षेत्र नंं २, १२ गते क्षेत्र नंं ३ र १३ गते क्षेत्र नंं ४ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम रहेको प्रदेश निर्वाचन कार्यालय धनुषा जनकपुरधामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्