तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा निर्वाचनको तयारी तीव्र

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् । मतदाता शिक्षा, जनशक्ति व्यवस्थापनदेखि सुरक्षा रणनीतिसम्मका कामलाई अन्तिम चरणमा पुर्‍याइएको अधिकारीहरूले बताएका छन् । 

आइतबार जिल्ला निर्वाचन कार्यालय बझाङले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे विस्तृत जानकारी दिइएको हो । कार्यालयका प्रमुख वसन्त बहादुर धानुकले निर्वाचनका लागि एक हजार एक सय ३४ जना कर्मचारी खटनपटन भइसकेको र उहाँहरूलाई आवश्यक तालिम दिने तयारी भइरहेको बताउनुभयो ।

फागुन ३ गतेदेखि जिल्लाका १२ वटै स्थानीय तहका ९४ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको समेत धानुकले बताउनुभयो । 

निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्र, १८९ स्थायी मतदान केन्द्र र १३७ मतदानस्थल तोकिएका छन् । तीन मतदानस्थल सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा राखिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । 

मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जिल्लामा ५१ प्रकारका निर्वाचन सामग्री पुगिसकेको जानकारी दिनुभयो । 

सुरक्षा व्यवस्थातर्फ २०७९ सालको निर्वाचनभन्दा यसपटक थप कडाइ गरिएको प्रशासनको दाबी छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी र जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र धमलाले विगतका निर्वाचनमा भएका कमजोरी नदोहोरिने गरी सुरक्षा योजना बनाइएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button