तपाईँ सुन्दै हुनुहुन्छः

निष्पक्ष र तथ्यपरक सूचना सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमैत्री वातावरण सिर्जना गर्न निर्वाचनसम्बन्धी निष्पक्ष र तथ्यपरक सूचना सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभएको छ ।

गोरखापत्र संस्थानले आज पत्रकारहरूका लागि आयोजना गरेको निर्वाचन समाचार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गोरखापत्र दैनिक, रेडियो नेपालजस्ता सञ्चार माध्यमले विभिन्न भाषाका समाचार र कार्यक्रममार्फत मतदाता शिक्षा सम्बन्धी सूचना सम्प्रेषण गरी निर्वाचनलाई सफल बनाउन सहयोगी भूमिका निभाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मतदाता, मतदान प्रक्रिया र निर्वाचन आचारसंहिता पालना सम्बन्धी शिक्षामूलक सामग्रीमा केन्द्रित प्रसारण तथा स्रोत प्रमाणित समाचारमार्फत भ्रामक सूचनाको न्यूनीकरण गर्न आवश्यक भएको बताउनुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष अखण्ड भण्डारीले निर्वाचनका बेला सत्य तथ्यमा आधारित निष्पक्ष सूचनाहरू प्रवाह गर्नुपर्नेमा जोड दिँदै निर्वाचन आचारसंहिता पालना गर्नु प्रत्येक सञ्चारकर्मीको दायित्व भएको बताउनुभयो ।

गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले सामाजिक सञ्जाललाई मुख्य पत्रकारिता मान्ने धारणा गलत भएको भन्दै गलत सूचना नियन्त्रण र व्यावसायिक पत्रकारितालाई सुदृढ गर्न पेशागत दक्षता र सीप विकासमा जोड दिनुभयो ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू सहभागी अभिमुखीकरणमा निर्वाचन आयोगका प्रतिनिधि तथा सञ्चार विज्ञहरुले निर्वाचन आचारसंहिताबारे प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button