मतदान केन्द्र सारिएको भन्दै सिरहाको औरहीका स्थानीय आन्दोलित
लहान । सिरहाको औरही गाउँपालिका वडा नम्बर–१ हरकट्टीमा कायम गरिएको मतदान केन्द्र अन्य ठाउँमा सारिएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा मतदान केन्द्रको स्थान परिवर्तन गरिएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
स्थानीयका अनुसार गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि हरकट्टीस्थित आधारभूत विद्यालयमा मतदान केन्द्र कायम गरिएको थियो । उक्त मतदान केन्द्रमा कुल १ हजार १ सय ५४ जना मतदाता रहेका छन् । तर पछि सो मतदान केन्द्र जनता माध्यमिक विद्यालय दरहियामा सारिएको जानकारी पाएपछि स्थानीयले असन्तुष्टि व्यक्त गर्दै आन्दोलन सुरु गरेका छन् । शुक्रबार स्थानीयवासीले वडा कार्यालयमा शान्तिपूर्ण धर्ना आन्दोलन समेत गरेका थिए ।
स्थानीय सन्तोष कुमार यादवले बिना जानकारी मतदान केन्द्र सारिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले मतदान केन्द्र टाढा भएकोले विशेष गरी वृद्धवृद्धा, महिला तथा अपाङ्गता भएका मतदातालाई आवतजावत गर्न कठिन हुने बताउनुभयो ।
सो विषयमा वडा अध्यक्ष सुरैतलाल ठाकुर सहित ५ जनाले जिल्ला निर्वाचन कार्यालय सिरहा, प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालय सिरहा, प्रदेश निर्वाचन कार्यालय जनकपुर र निर्वाचन आयोगलाई विपक्षी बनाई उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दायर गरेको थियो । सोही अनुसार अदालतले पुरानै स्थान अर्थात् दरहियामा मतदान केन्द्र कायम गर्न अन्तरिम आदेश दिएको छ ।
स्थानीयका अनुसार यसअघि हरकट्टीमा मतदान केन्द्र कायम गर्ने विषयमा आठ राजनीतिक दलबीच सहमति समेत भएको थियो । स्थानीय राजनीतिक दलले जिल्ला प्रशासन कार्यालय सिरहामा दिएको निवेदनको आधारमा मतदान केन्द्र हरकट्टीमा निर्धारण गरिएको भए पनि पछि एकपक्षीय रूपमा स्थान परिवर्तन गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएको साविक हरकट्टी गाविसका पूर्व गाविस अध्यक्ष रासधारी यादवले बताउनुभयो ।
स्थानीयवासीले मतदान केन्द्र पुनः हरकट्टीमै कायम नगरे उक्त मतदान केन्द्रका १ हजार १ सय ५४ जना सम्पुर्ण मतदाताहरू निर्वाचनमा सहभागी नहुने र कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । यता जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवले अदालतले स्टे अर्डर जारी गरिसकेकोले पुरानै स्थान दरहियामा मतदान केन्द्र कायम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्