तपाईँ सुन्दै हुनुहुन्छः

गौरमा सर्वदलीय तथा सर्वपक्षीय बैठक : शान्ति र सद्भाव कायम गर्न अपिल

रौतहट । गौरमा उत्पन्न तनावपूर्ण अवस्थाबीच शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। रौतहट जिल्लाको गौर नगरपालिका–६ सबगढा गाउँमा देखिएको विवाद पुनः चर्किएपछि जिल्ला प्रशासनले आज पनि कर्फ्यु आदेश जारी राखेको छ।

गत फागुन ७ गते बेलुकी करिब साढे ९ बजे सबगढा गाउँमा सामान्य विवाद उत्पन्न भएपछि तत्कालै सुरक्षा निकाय परिचालन गरिएको थियो । त्यसको भोलिपल्ट फागुन ८ गते दुवै पक्षबीच वार्तामार्फत समाधान खोज्न बैठक आयोजना गरी ६ बुँदे सहमति गरिएको थियो। उक्त सहमतिपछि केही समयका लागि अवस्था सहज बने पनि फागुन ९ गतेदेखि पुनः स्थिति तनावपूर्ण बन्दै गएको थियो।

संभावित जनधनको क्षतिलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन ९ गते दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

आज फागुन १० गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आह्वान गरेको छ। बैठकले आपसी सम्मान, एकता र समझदारीमार्फत मात्रै दिगो शान्ति सम्भव हुने निष्कर्ष निकालेको छ।

बैठकमार्फत जिल्लावासीलाई द्वन्द्व र उत्तेजनाले अन्ततः आफ्नै समाज र भावी पुस्तामा नकारात्मक असर पार्ने यथार्थलाई मनन गर्न आग्रह गरिएको छ। साथै, अफवाहमा नपर्न र शान्ति सुरक्षामा प्रशासनलाई सहयोग गर्न सबैसँग अपिल गरिएको छ।

जिल्ला प्रशासनले रौतहटवासीलाई सहअस्तित्व र सद्भावलाई प्राथमिकतामा राख्दै परिस्थिति सामान्य बनाउन सहयोग पुर्‍याउन आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button