गौरमा कर्फ्युका कारण जिल्ला अदालतका सेवा स्थगित
रौतहट। गौरमा दुई समुदायबीच उत्पन्न तनावपछि जारी कर्फ्युका कारण जिल्ला अदालत रौतहटको सेवा स्थगित भएको छ।
शनिबारदेखि निरन्तर कर्फ्यु लागू भएपछि आइतबार अदालतले सूचना जारी गर्दै अर्को आदेश नभएसम्म सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको हो।
अदालतका शाखा अधिकृत तिलक कुमारी ढकालद्वारा जारी सूचनामा गौर नगरपालिका क्षेत्रभित्र आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा निषेध गरिएको उल्लेख छ। कर्फ्युका कारण आजका लागि तोकिएका सबै सेवा रोकिने जनाइएको छ।
अदालतले तारिख र म्याद नगुज्रिने व्यवस्था गरिएको पनि स्पष्ट पारेको छ। कर्फ्यु हटेपछि नियमित सेवा पुनः सञ्चालन गरिने सूचनामा उल्लेख छ।
गौर क्षेत्रमा तीन दिनयता बढेको तनाव नियन्त्रणका लागि प्रशासनले कर्फ्यु जारी गरेको हो। स्थिति सामान्य बनाउन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्