तपाईँ सुन्दै हुनुहुन्छः

गौरमा आज पनि कर्फ्यु जारी, २३ जना नियन्त्रणमा

रौतहट।दुई समुदायबीच भएको झडप उग्र बनेपछि रौतहटको सदरमुकाम गौरमा आज पनि कर्फ्यु जारी छ। शनिबार तोडफोड र आगजनीका घटना बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले दिउँसो १ बजेदेखि कर्फ्यु आदेश लागू गरेको थियो।

प्रशासनले आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि कर्फ्यु केही खुकुलो पारेको जनाएको छ। सो अवधिमा भेला, सभा, जुलुस तथा प्रदर्शन नगर्न सर्त तोकिएको छ। साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म निरन्तर कर्फ्यु लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको आदेश र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु लागू गरिएको हो। आदेशअनुसार पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया खोला, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्र कर्फ्यु क्षेत्र तोकिएको छ। सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा आवतजावतमा अवरोध गर्ने कुनै पनि गतिविधि निषेध गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आदेश जारी गरिएको प्रशासनले जनाएको छ। कर्फ्यु उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यसैबीच, गौर नगरपालिका–६ सबगढामा उत्पन्न साम्प्रदायिक तनाव भड्काएको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको छ। निर्वाचनको समयमा समाजमा अशान्ति फैलाउने र धार्मिक सद्भावमा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो।

झडपका क्रममा सात जना घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनामा एउटा स्कर्पियो गाडी र पाँच वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन बढाइएको छ। प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन र अफवाहमा नलाग्न आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button