तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा महिला च्याम्पियनसिप फाइनल : आर्मी र सशस्त्र दुवैको उपाधि रक्षा गर्ने दाबी

उदयपुर । गत फागुन १ गतेदेखि उदयपुर सदरमुकाम गाईघाटस्थित थरुहट रङ्गशालामा सञ्चालन भइरहेको एन्फा महिला च्याम्पियनसिपको उपाधि रक्षा गर्ने दाबी विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लबले गरेका छन् ।

भोलि (फागुन ९ गते) हुने फाइनल खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरूले आफूहरू पूर्ण तयारीका साथ मैदान उत्रने र उपाधि रक्षा गर्ने दाबी गरेका हुन् । उपाधिका लागि विभागीय दुई सशक्त टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी क्लब आमनेसामने हुँदै छन् ।

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक राजु तामाङले विगतमा उपाधि नजिक पुगेर पनि अवसर गुमाएको अनुभवलाई यसपटक सफलतामा परिणत गर्ने लक्ष्य रहेको बताए । टोलीकी कप्तान सुनिता कुमारी चौधरीले टिम पूर्ण रूपमा आत्मविश्वासले भरिएको र फाइनलसम्मको यात्राले खेलाडीहरूको मनोबल उच्च बनाएको उल्लेख गर्दै उपाधि जित्नेमा विश्वस्त रहेको बताइन् ।

यता सशस्त्र प्रहरी क्लबका प्रशिक्षक जिवेश कुमार पाण्डेले उपाधि जित्ने लक्ष्यसहित सबै तयारी पूरा भएको जानकारी दिए । टोलीकी कप्तान अनिता बस्नेतले सम्पूर्ण खेलाडीहरूको मनोबल उच्च रहेको र आर्मीको सामना गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताइन् ।

नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपालका शीर्ष १० महिला टोलीहरूको सहभागिता रहेको छ । फाइनलसम्मको यात्रामा आर्मीले क्वार्टर फाइनलमा न्यु रोड टिमलाई ६–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएको थियो ।

त्यस्तै सशस्त्र प्रहरीले क्वार्टर फाइनलमा आरएस रिसोर्ट पोखरालाई १९–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने सेमिफाइनलमा सङ्कटा क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button