तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव सम्पन्न

जनकपुरधाम । जनकपुरधाममा चार दिवसीय “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२” सम्पन्न भएको छ ।  

मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा र संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, राजर्षिजनक विश्व विद्यालयको सहितको निकायको सह–आयोजनामा भएको चार दिवसीय महोत्सवमा मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिमा युवा पुस्तालाई आकर्षित गर्न विद्यालय केन्द्रित बनाइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेख्य तथा सक्रिय सहभागितामा भएको सो कार्यक्रममा विद्यालय स्तरीय, नृत्य, वक्तृत्व, चित्रकला तथा कविता प्रतियोगिता सम्पन्न भएको थियो ।

विभिन्न प्रतियोगितामा सहभागी भएर प्रथम, द्वितीय तथा तृतीय हुने  विद्यालय तथा विद्यार्थीहरूलाई दोसल्ला ओढाएर शिल्ड, कप, नगद, सम्मानपत्र सहित मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्ण र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह लगायतले सम्मान गर्नुभएको थियो ।   

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, कोषका सदस्य नित्यानन्द मण्डल, सदस्य सचिव श्यामसुन्दर शशी, पूर्व मन्त्री रामसरोज यादव लगायतले महोत्सवको उपलब्धिका विषयमा बोल्नुभएको थियो ।

चार दिवसीय अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल–भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका साथै आर्थिक, सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिनु भएका विद्वान तथा विदुषी, कलाकारहरूको सहभागिता  थियो ।   

कोषले यस अघि ४ पटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव गरिसकेको छ । २०७३, २०७५, २०७८ र २०८० मा कोषले अन्तर्राष्ट्रिय नाट्य महोत्सव गरेकोमा यस पटकको महोत्सवमा २० विभिन्न समसामयिक विषयहरूमा विमर्शको आयोजना गरेको छ । महोत्सवका सबै कार्यक्रमहरू मैथिली विकास कोषको आफ्नै जनकपुरधाम वडा नंं ८ सीताकुण्ड स्थित भवन क्षेत्रमा सम्पन्न भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button