एन्फा महिला च्याम्पियनसिप: सशस्त्र प्रहरी क्लब फाइनलमा

उदयपुर । एन्फा महिला च्याम्पियनसिप–२०८२ अन्तर्गत उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी क्लब फाइनलमा प्रवेश गरेको छ ।
सशस्त्रले सङ्कटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । यस जितसँगै सशस्त्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
खेलको १०औँ मिनेटमा सशस्त्रकी जर्सी नम्बर १९ की रश्मी कुमारी घिसिङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसको दुई मिनेटमै जर्सी नम्बर १५ की अनिता केसीले गोल थप्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफ २–० ले अघि रहेको सशस्त्रले खेलमा आफ्नो पकड मजबुत बनाएको थियो ।
दोस्रो हाफको ४२औँ मिनेटमा जर्सी नम्बर १२ की गीता राणाले गोल गर्दै सशस्त्रको जित सुनिश्चित गरिन्। उनको गोल नै खेलको अन्तिम गोल बन्यो ।
विदेशी खेलाडीसमेत समावेश रहेको सङ्कटा क्लबले दोस्रो हाफमा केही समय दबाब सिर्जना गरे पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी सशस्त्रकी जर्सी नम्बर २ की मनमाया दमाई ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगिताको फाइनल फागुन ९ गते हुने आयोजकले जनाएको छ । फाइनलमा सशस्त्र प्रहरी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल सङ्घ उदयपुरको सह–आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, विभिन्न तीन विधामा उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।







प्रतिक्रिया राख्नुहोस्