तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा मतदाता शिक्षाका लागि स्वयंसेवक तथा सहजकर्ता परिचालन

वीरगञ्ज  । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षाका लागि पर्सा जिल्लामा १ सय २० जना स्वयंसेवक तथा सहजकर्ता खटाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय पर्साले स्थानीय स्वयंसेविका, बाल विकास सहजकर्ता र सामुदायिक अध्ययन केन्द्र परिचालक गरी १ सय २० जनालाई मतदाता शिक्षा दिलाउन गाउँ गाउँमा खटाएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामीका रौनियारका अनुसार जनशक्ति छनोट गर्दा विगतका निर्वाचनमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइएको छ । यसरी खटाइएका कर्मचारीले प्रत्येक वडामा पुगेर तोकिएको जिम्मेवारी पूरा गर्न सुरु गरिसकेका छन् ।

निर्वाचन कार्यालय पर्साकी प्रमुख रौनियारले फागुन ३ गतेदेखि स्वयंसेवक परिचालन भएको र फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम जारी रहने बताउनुभयो । 

कार्यक्षेत्रमा खटाइएका स्वयंसेवकले मतदाताको घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने रौनियारले जानकारी दिनुभयो । 

वीरगंज महानगरपालिका सहित पर्साका १४ पालिकाका १ सय २० वटा वडाहरूमा प्रत्येक वडामा १ जनाको दरले मतदान शिक्षा स्वयंसेवक तथा सहजकर्ता खटाइएको छ । 

मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरण गर्ने अपेक्षा निर्वाचन कार्यालय पर्साले गरेको छ ।

पर्सामा ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । यस जिल्लामा १ लाख ५३ हजार ६ सय ६१ जना महिला, १ लाख ९८ हजार ८ सय ८ जना पुरुष, १५ जना अन्य गरी ३ लाख ५२ हजार ४ सय ८४ जना मतदाता रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button