तपाईँ सुन्दै हुनुहुन्छः

सहारा क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा 

पोखरा । आहा रारा पोखरा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लब २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालाको फुटबल मैदानमा आज (बुधवार) भएको पहिलो सेमिफाइनल खेलमा सहाराले मनाङलाई टाईब्रेकरको सडेन डेथमा ७—६ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । 

सडेन डेथमा मनाङका सविन खड्काले प्रहार गरेको पेनाल्टी सुट सहाराका गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै सहारालाई फाइनलमा पुर्‍याउनु भएको हो । दोस्रो सडेन डेथमा सहाराका कप्तान शुसिल लामाले गोल गर्नु भएको थियो । पहिलो सडेन डेथमा सहाराका आसिस गुरुङले पेनाल्टी सुटमा गोल गर्नु भयो भने मनाङका गिदोन नोआ किरेमेहले गोल गर्नु भएको हो । ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगे पनि टाईब्रेकरमा पनि दुवै तर्फ ५—५ गोल भएसँगै निर्णायकको अन्तिम विकल्प सडेन डेथमा खेल पुगेको हो । 

आहा रारा पोखरा गोल्ड कपमा ६ पटक उपाधि जितेको मनाङले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल लम्बिएसँगै सडेन डेथमा पुगेर पराजित हुनु परेको अनिल तामाङले बताउनुभयो । १२ वर्ष अघि अर्थात् क्याराभान बाहेक १२ औँ आहा रारा पोखरा गोल्ड कपको उपाधि जितेको सहाराले यस वर्ष १२ वर्षपछि खोला फर्काउने गरी फाइनल खेल जित्ने रणनीतिका साथ तयारी गरेको प्रशिक्षक सुनिल राना मगरले बताउनुभयो । आजको खेलमा सहाराका तै डिनियल बदारु म्यान अफ दी म्याच घोषित हुँदै १० हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो । 

बुधवारको खेलको शुभारम्भ हिमश्री फुड्स प्रालिका निर्देशन युवा व्यवसायी किरण केसीले रेफ्रिलाई बल हस्तान्तरण गरी गर्नु भएको हो । 

यसैबिच, भोलि (बिहीबार) दोस्रो सेमिफाइनल खेल हुने भएको छ । समूह बी बाट उज्वेकिस्तानको आबा फुटबल क्लब विरुद्ध जावलाखेल यूथ क्लब बिच बिहीबार दिउसो ३ः०० बजे पछि सेमिफाइनल खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । 

हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button