तपाईँ सुन्दै हुनुहुन्छः

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धनकुटा । धनकुटामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । 

भाषा माविको आयोजना तथा धनकुटा नगरपालिकाको प्रायोजनमा दुई दिने धनकुटा नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटाको तल्लो टुँडिखेलमा प्रतियोगिता भइरहेको हो ।

बुधवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङले गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्त्व रहेको बताउनुभयो । उहाँले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वास्थ्य बनाउन पनि मद्दत गर्ने बताउनुभयो । 

प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प लगायतका विभिन्न प्रतियोगिता भइरहेका छन् । प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी २२ वटा विद्यालयका विद्यार्थी प्रतिस्पर्धामा उत्रिएको शिक्षक यमबहादुर पौडेलले बताउनुभयो । 

प्रतियोगितामा माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीको सहभागिता रहेको र प्रत्येक विधामा विजयी हुनेले शिल्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता भोलि ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button